ओली वंश झापा जिल्ला समितको विशेष सक्रियता र देश विदेशमा रहेका सम्पूर्ण ओली बन्धुहरुको तन,मन र धनबाट अर्थात भौतिक, सामाजिक, मानसिक र संवेगात्मक रुपमा समय समयमा विभिन्न क्षेत्रमा सहयोग गर्नका साथै महत्वपूर्ण कार्यहरु गर्दै आएको कुरा सर्वविदितै छ । यी कार्यहरु मध्ये केही महत्वपूर्ण कार्यलाई उल्लेख गर्ने प्रयास यहाँ गरिएको छ । २०४६ सालको अन्त्यतिर प्रारम्भिक विन्दुबाट प्रस्थान गरेको यो संस्थाले एक महिना भित्रमा अर्थात २०४७ साल बैसाख ७ गतेबाट संस्थालाई नियमसंगत र व्यवस्थित ढंगले संचालन र परिचालन गर्नका लागि विभिन्न प्रस्तावमा छलफल र निर्णय समेत गरि संस्थालाई गति दिने कार्यको थालनी भएको थियो । यसका लागि संस्थाको उद्देश्य किटानका साथै उद्देश्य प्राप्तीका लागि विधान बनाउने कार्यदेखि बन्धुहरुका बिचका सामाजिक धार्मिक अनुष्ठानमा सरिक हुने , एक घर परिवारलाई एउटा एकाइ मानी ओली वंश समन्वय समितिको सदस्यता प्रदान गर्ने, वार्षिक रु. ५१।०० बन्धु कोषमा जम्मा गर्ने र ओलीवंश कोष खडा गर्ने , परिवारभित्र मृत्युका घटना घटेमा निम्नतम् रु. ११।०० अनिवार्य रुपमा सबै बन्धुले सरह दिनुपर्ने, सरहको रकम कुनै परिवारले अस्वीकार गर्न नपाउने र कर्म नचलेका हकमा भने यो अनिवार्य नहुने ,दैविक घटना घटेमा घटनाको प्रकृति हेरी कार्य समितिले सहयोगको निर्धारण गर्ने आफ्नो वंश परम्परा र इतिहासलाई निर्माण गर्नका लागि वंशावली निर्माण गर्न अठोट गर्ने कार्य गरियो ।

यिनै प्रस्तवलाई कार्यान्वयन गर्ने सनदर्भमा सर्वप्रथम २०४७ कार्तिक १० मा पुस्ता निक्यौल गरी वंशावली निर्माण गर्ने र आसौच वार्ने सम्बन्धमा राय पेश गर्न क्रमश श्री सरोजकुमार ओलीको संयोजकत्वमा पुस्ता निक्र्यौल उपसमिति र श्रीप्रसाद ओलीको संयोजकत्वमा आसौच वार्ने उद्देश्य अनुरुप उपसमिति निर्माण कार्यको थालनी गरियो । सर्वप्रथम २०५२ सालमा पूर्वका ओलीहरुको वंशावली प्रकाशन भयो र ओली वंशावली भाग १ २०५९ प्रकाशनमा ल्याइएको छ । यसप्रकार विभिन्न तह र तप्काबाट लामो अभ्यास र अनुसन्धान पश्चात वंशावली प्रकाशन गर्न ठूलो योगदान रहेको पाइन्छ । ओलीवंश समन्वय समितिको गठन पश्चात भएका महत्वपूर्ण कार्यका रुपमा यस कार्यलाई लिन सकिन्छ । जसले आज हामीलाई आपसी भाइचारा र बन्धुको रुपमा परिचित गराउन र पुस्ता निर्धारण गरी संवोधन गर्न समेत ठूलो भूमिका खेलेकोछ । यो वंशावली तयारी गर्ने सन्र्दभमा वंशावलीको भूमिकामा उल्लेख अनुसार विशेष गरी झापा, काठमाडौं र चितवनका समितिहरुका साथै बेलकोट , डुमकोट र मुल्दुङ्गका सदस्यहरुबाट संकलित तथ्याङ्कलाई आधार मानिएको पाइन्छ ।

संस्थाको स्थापना कालमा नै आर्थिक स्रोतका रुपमा एक घर परिवारलाई एउटा एकाइ मानी ओली वंश समन्वय समितिको सदस्यता प्रदान गर्न बन्धु कोषमा रकम जम्मा गर्ने व्यवस्था गरयो । यो व्यवस्थाबाट आर्थिक स्रोत जुटाउन सुरुवात गरेको यो संस्थाले, सदस्यता नविकरण, आजीवन सदस्य , श्रीमद्भागवत पुराण, पुस्ता निक्यौलका लागि वंशावली निर्माण , जग्गा खरिद, भवन निर्माण आदि जस्ता महत्वपूर्ण कार्यलाई अघि बढाइ आर्थिक स्रोतको विकास गर्नका साथै यी क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने प्रयास यो संस्थाले गरेको छ ।

आर्थिक स्रोत जुटाउनका साथै आपसी भाइचारा र सदभावको विकास गरी सामाजिक अनुष्ठान समेत गर्ने लष्य अनुरुप श्री विष्णुप्रसाद ओली घैलाडुवाको संयोजकत्वमा श्रीमद्भागवत महापुराण मूल समिति गठन गरी २०५० साल फागुन २ गतेदेखि कन्काई माई कोटीहोममा श्रीमद्भागवत सप्ताहा पुराण लगाइ बन्धुहरुको तर्फबाट धार्मिक एवं सामाजिक अनुष्ठानको सुरुवात गरियो ।

२०६४ साल पछिका दिनमा ओली बंश सम्नबय समित झापाकोो सक्रियतामा तिले ६६ जना महानुभावहरुबाट जनहि ५१००।०० का दरले जग्गा खरिद गर्नका लागि रु. ३,३६६०० रकम प्राप्त भयो । यसभन्दा अघि दाताको तर्फबाट दिने भनिएको १० धुर जग्गा प्राप्त गर्नुका साथै अरु १० धुरु जग्गा समेत खरिद गरी ओली वंशका नाममा तत्कालीन अनारमनी २ हाल विर्तामोडमा एक कठठ जग्गा दर्ता गर्न संस्था सफल भयो । त्यही जग्गामा हाल ओली वंश समन्वय समितिले वंशकै सहयोगमा ओली बन्धु प्रष्ठिान कै रुपमा एउटा भवन निर्माण भइरहेको कुरा सिङ्गो ओली परिवारले गौरवको अनुभुति गरेको छ । यो कार्यलाई यस अवस्थामा ल्याइपुरयाउनका लागि सहयोग गर्ने झापा, मोरङ्ग, सुनसरी , काठमाण्डौ लगायत अन्य विभिन्न ठाउँमा बसोबास गर्ने सम्पूर्ण ओली बन्धुहर लगायत जग्गादाता समेतलाई धन्यवादका पात्र हुनु हुन्छ ।

यस कार्यमा मिति २०६६ साल मंसीर २० गतेका दिन झापा जिल्लाको जमुनाबारीमा पहिलो पटक गोठधुप कार्यक्रम भवन निर्माणको इतिहासमा एउटा कोशे ढुङ्गा हुनका साथै अति नै महत्वपूर्ण कार्यका रुपमा सावित हुन पुग्यो । यसै दिन ११ जना बन्धुहरुले रु. ५१००० देखि रु. १०११११ सम्म भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेर भवन निर्माणमा बन्धुहरुलाई सरिक गराउन पे्ररित गरयो । यही प्रतिबद्धताको निरन्तरता नै आज हाम्रो सामु आफ्नै भवन उपस्थिति भएको छ । जुन भवनको शिलान्यास २०६६ साल चैत्र ११ गते ओली वंश समन्वय समिति केन्द्रिय समितिका अध्यक्ष श्री सरोजकुमार ओली , केन्द्रिय संरक्षक श्री श्रीप्रसाद ओली र यस संस्थाका संस्थापक अध्यक्ष स्व.श्री त्रैलोक्यप्रसाद ओलीको धर्मपत्नी हरिमाया ओलीद्धारा औपचारिक समारोहबीच संयुक्त रुपमा शिलान्यास कार्य सम्पन्न गरिएको थियो । यसपछि २०६७ जेष्ठ ०६ गते पिलरको पुजा गरी भवन निर्माण कार्य शुरु गरिएको थियो ।

यसका अतिरिक्त ओली वंश समन्वय समितिको तर्फबाट झापा जिल्ला भित्रका ओलीबन्धु मध्ये जेष्ठ नागरिकको सम्मान गर्ने, संस्थागत र सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ट स्थान प्राप्त गर्नेको सम्मान गर्ने , प्रत्येक बर्ष गोठधुपको व्यवस्थापन र परिचालन गर्ने र बन्धु जनको परिवार भित्र पर्न गएका आकस्मिक घटनाका साथै परिवारभित्र मृत्युका घटना घटेमा संगठनको तर्फबाट अनिवार्य रुपमा उपस्थित भइ बन्धुले सरह दिनुपर्ने कार्य लाई आजसम्म निरन्रता दिइरहेको छ ।