ओली वंश समन्वय समिति जिल्ला कार्यसमिति झापा

सर्बप्रथम २०४६ साल चैत्र ०५ का दिन ओली वंश समन्वय समितिको गठन गर्ने अवधारणा अनुरुप चैत्र २५ गते पहिलो पटक तत्काल ६५ जना ओली बन्धुहरुको उपस्थितिमा झापा जिल्लामा १० वटा क्षेत्र कायम गरी श्री त्रैलोक्य प्रसाद ओलीको अध्यक्षतामा १५ सदस्यीय ओलीवंश समन्वय समिति, ५ जनाको सल्लाहाकार र ५ जनाको जनसम्पर्क तदर्थ समिति गठन भएको थियो । यसपछि तदर्थ समितिका संयोजक श्री त्रैलोक्य प्रसाद ओलीको अध्यक्षतामा बसेको पहिलो बैठक (२०४७ साल बैसाख ७ गते) बाट संस्थालाई नियमसंगत र व्यवस्थित ढंगले संचालन र परिचालन गर्नका लागि निम्न प्रस्तावमा छलफल र निर्णय सहित संस्थालाई गति दिने कार्यको थालनी भएको थियो । प्रस्ताव र निर्णय यसप्रकारका थिए ,

क. संस्थाको उद्देश्य किटानका साथै उद्देश्य प्राप्तीका लागि विधान बनाउने ,
ख. बन्धुहरुका बिचका सामाजिक धार्मिक अनुष्ठानमा सरिक हुने ,
ग. एक घर परिवारलाई एउटा एकाइ मानी ओली वंश समन्वय समितिको सदस्यता प्रदान गर्ने,
घ. वार्षिक रु. ५१ बन्धु कोषमा जम्मा गर्ने र ओलीवंश कोष खडा गर्ने ,
ङ परिवारभित्र मृत्युका घटना घटेमा निम्नत्म रु. ११ रुपैया अनिवार्य रुपमा सबै बन्धुले सरह दिनुपर्ने,
च. सरहको रकम कुनै परिवारले अस्वीकार गर्न नपाउने र कर्म नचलेका हकमा भने यो अनिवार्य नहुने ,
छ. दैविक घटना घटेमा घटनाको प्रकृति हेरी कार्य समितिले सहयोगको निर्धारण गने,
ज. आफ्नो वंश परम्परा र इतिहासलाई निर्माण गर्नका लागि वंशावली निर्माण गर्न अठोट गर्ने ।

ऐतिहासिक दृष्टिकोणले अति नै महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने तदर्थ समितिद्धारा गरिएका निर्णय र प्रस्तावहरु मिति ०४७ साल बैसाख १५ गतेका दिन भएको पहिलो महाअधिवेशनको बृहत भेला (१३९ जनाको उपस्थिति) बाट अनुमोदन गरिएको थियो । नेपालमा मेची–महाकाली साथै विदेशमा समेत रहेका ओली बन्धु (उपमन्यु गोत्र) हरुको बिचमा आपसी परिचय, एकता, सद्भाव, समन्वय र सहयोगका लागि कार्य गर्ने एउटा संस्थाको आवश्यकता थियो । जसले ओली वंशको इतिहास , परम्परा र संस्कृति तथा धर्मलाइ समेत बचाएर राख्न सकोस । यिनै लक्ष्यलाई साकार पार्न ओली वंश समन्वय समितिको स्थापना भएकाले यसलाई बैधानिक मान्यता दिनु पनि थियो । जस्ले संस्थालाई बैधानिक रुपमा पनि बलियो बनाउन सकोस । यिनै कुरालाई व्यवहारमा उतार्न ओली वंश समन्वय समिति नेपालको बिधान २०५२ बन्यो र विधिवत रुपमा जिल्ला प्रशासन कार्यलयमा झापामा दर्ता (दर्ता नं. ३३३) समेत भयो ।

यसअघि २०५० साल जेठ ०९ गते भएको दोस्रो साधारण सभाबाट पुनः श्री त्रैलोक्यप्रसाद ओलीको नेतृत्वमा १७ सदस्यीय कार्य समिति र विष्णुप्रसाद ओलीको संयोजकत्वमा १० सदस्यीय सल्लाहाकार समिति पुर्नगठन भयो । यसै बिचमा संस्थापक अध्यक्ष श्री त्रैलोक्य प्रसाद ओली अस्वस्थ भइ लामो समयसम्म उपचारमा रहेकै अवस्थामा ओली वंश समन्वय समितिको विशेष बैठक बसी २०५२ साल जेष्ठ १८ गते श्री जयनारायण ओलीलाई कार्यवाहक अध्यक्ष तोकिएको थियो । दुर्भाग्यवस २०५२ साल असार १२ गतेका दिन ओली वंश समन्वय समितिको संस्थापक अध्यक्ष श्री त्रैलोक्य प्रसाद ओलीको असामयिक निधनले संगठनको गति र विस्तारलाई ठूलो क्षति पु¥याएको थियो ।

यसपछि २०५२ माघ १३ गते चौथो महाअधिवेशन नारायण प्रसाद ओलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति र विष्णुप्रसाद ओली घैलाडुवाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समितिको गठन गरिएको थिया । संस्थाको विकास क्रमको क्षणमा पाँचौ महाअधिवेशन २०५५ स्मरणीय बन्न पुगेको थियो । यो अधिवेशन झापामा सम्पन्न भएको थियो । यो महाअधिवेशनको मुख्य विशेषता भनेको पहिलो पटक केन्द्रिय कार्य समितिका पदाधिकारीहरु र सल्लाहाकार समितिको छनौट र गठन भएको थियो ।
यसै अधिवेशनमा झापा जिल्ला कार्य समितिका पदाधिकारीहरुको छनौट समेत भएको थियो । यसले झापामा संगठनको स्थापना कालदेखि बन्धु र परिवारजनको आत्मियता र समन्वय र अग्रणी भूमिकालाई थप बल मिलेको थियो । स्मरण रहोस यस अधिवेशनमा झापा जिल्लाका साथै तेह्रथुम, मोरङ्ग, सुनसरी, चितवन, काठमाडौं, दाङ्ग र सल्यान जिल्लाबाट समेत प्रतिनिधत्व रहेको थियो । यस अधिवेशन (२०५५ साल चैत्र ६ गते) ले पहिलो पटक श्री प्रेमप्रसाद ओली काठमाण्डौको अध्यक्षतामा ९ सदस्यीय केन्द्रिय कार्य समिति र श्री लवप्रसाद ओलीको अध्यक्षातामा १५ सदस्यीय झापा जिल्ला कार्य समितिको गठन गरिएको थियो ।

२०६४ साल माघ २६ गते छैटौ महाअधिवेशनबाट उमेशचन्द्र ओलीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति र विनोदकुमार ओलीको संयोजकत्वमा १४ सदस्यीय जिल्ला सल्लाहाकार समिति गठन भयो । यसपछि २०६६ जेठ २ गते केन्द्रिय महाअधिवेशनबाट श्री सरोजकुमार ओलीको अध्यक्षतामा केन्द्रिय कार्य समितका साथै संरक्षक परिषद र सल्लाहाकार समिति समेत गठन भएको थियो । सातौ महाअधिवेशनबाट २०६८ जेष्ठ २ मा श्री उमेशचन्द्र ओलीको अध्यक्षतामा पुनः १७ सदस्यीय कार्य समिति र श्री विनोदकुमार ओलीको संयोजकत्वमा १४ सदस्यीय जिल्ला सल्लाहाकार समिति गठन भयो । यसै गरी आठौ साधारण सभाबाट मिति २०७२ साल जेठ १६ का दिन श्री गंगाप्रसाद ओलीको नेतृत्वमा १७ सदस्यीय र श्री उमेशचन्द्र ओलीको संयोजक्त्वमा सल्लाहाकार समितिको गठन भएको थियो । साथै उक्त दिन नै श्री पुन्यप्रसाद ओलीको नेतृत्वमा ओली वंश केन्द्रिय समन्वय समितिका साथै संरक्षक परिषद र सल्लाहकार समिति समेत गठन भएको थियो । यस बिचमा झापा जिल्लामा मात्र सिमित रहेको यो संंस्थाको स्तरोन्नति भइ केन्द्रिय कार्र्य समितिको निर्माण भयो । यसैगरी ओली बन्धुहरुको जहाँ जहाँ बासस्थान छ, ती ती ठाउँहरुमा संगठनको गठन र विस्तार हुन थाल्यो । जस अनुरुप ओली वंश समन्वय समितिका संस्थापक समितका रुपमा तेह्रथुुम ,ताप्लेजुङ्ग र पाँचथरलाई समेटेर श्री देवीप्रसाद ओलीको अध्यक्षतामा पूर्वि पहाड तथा आठराई तेह्रथुममा कार्य समिति बनेको थियो । यसै गरी काठमाण्डौंमा श्री प्रेमप्रसाद ओली, चितवनमा श्री इन्द्रकुमार ओली, सुर्खेतमा श्री सुरेश ओली दोलखामा श्री भरतकुमार ओली, दाङ्गमा श्री यमप्रसाद ओली, बाजुरामा श्री लालबहादुर ओली, सल्यानमा श्री निमकुमार ओली, रुकुममा दीपेन्द्रबहादुर ओली , बाँकेमा श्री जंङ्गबहादुर ओली, बर्दियामा श्री धनबीर ओली, दैलेख रतिमान ओली, कैलालीमा क्षेत्रबहादुर ओली र मोरङ्गमा श्री ज्ञानेन्द्र ओलीको अध्यक्षतामा संगठनको स्थापना र विस्तार भएको पाइन्छ । यसैगरी काठमाण्डौंमा श्री बासुदेव ओलीको अध्यक्षतामा ओली वंश अक्षय कोष स्थापना भएको थियो ।

(स्रोतः पूर्वका ओलीहरुको वंशावली ,ओली वंशावली भाग १ र ओलीवंश समन्वय ससिति र ओलीवंश अक्षय कोष द्धारा प्रकाशित भित्तेपात्रो २०७१ साथै विभिन्न अधिवेशन र बैठमा अभिलेखिकरण गरिएका निर्णयहरु ) नोटः स्मरण रहोस अभिलेखमा कही पनि तेस्रो महाअधिवेशन उल्लेख गरिएको कुरा नपाइएकाले पृष्ठभूमिमा उक्त कुरा उल्लेख गरिएको छैन ।