ओली वंश समन्वय समिति जिल्ला समिति झापा

नेपाल भित्र वा बाहिर विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण ओली बन्धु–बान्धवहरुको बिचमा आपसी परिचय, सद्भाव, एकता, समन्वय, सहयोग र भाइचाराको सम्बन्ध विकास गर्दै वंशको इतिहास, धर्म, संस्कृति, रितिरिवाज र परम्परालाई समेत बदलिदो परिस्थिति अनुरुप सम्मान र संरक्षण गर्दै वंशका साथै समुदाय, समाज र राष्ट्रको समेत उन्नति र प्रगतिमा सहयोग पुर्याउने मुख्य लक्ष्य सहित 'ओली वंश समन्वय समिति'को निर्माण भएको हो ।

यी लक्ष्य प्राप्तीका लागि निम्न उद्देश्य यस संगठनले राखेका छन् ,
क. ओली परिवारका सदस्यहरु बिच पारस्पारिक परिचय आदन प्रदान गर्ने
ख. ओली परिवार बिच समन्वय, सहयोग र सद्भाव बृद्धि गर्ने
ग. ओली वंशको इतिहास खोजि गरि वंशावली तयार गर्ने
घ. धार्मिक, सांस्कृतिक र सामाजिक परंम्परा आदर्श, मूल्य र मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्न आवश्यक कार्यक्रम तर्जुमा गर्ने, लागु गर्ने
ङ. ओली वंशको आर्थिक सामाजिक र सांस्कृतिक परम्परा, वौद्धिक र शैक्षिक उत्थानका लागि उपयुक्त वातावरण सृजना गरी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने
च. बृहत्तर रुपमा सामाजिक एवम राष्ट्रिय हितका कल्याणकारी कार्यहरु सम्पादन गर्ने


ओलीहरु उपमन्यु ऋषिका सन्तान हुन । यसलाई ओलीहरुको गोत्र उपमन्यु रहेको आधारबाट पुष्टी गर्न सकिन्छ । यी ब्राह्मण र क्षेत्री दुवै बर्गमा छन् । उपमन्यु प्राचीन ऋषिको नाम हो । उपमन्यु ऋषि शिवका परम भक्त थिए । यिनले शैव धर्मको प्रवर्तन गरेका थिए । ब्रह्मका पुत्र वशिष्ठ, वशिष्ठका पुत्र व्याघ्रपाद र व्याघ्रपादका पुत्र उपमन्यु हुन् । उपमन्यु ऋषिकै दुईसय चालीसौं पुस्तामा उदयदेव भट्टको जन्म भयो । उनका चार भाइ छोराहरु मध्य तीन भाइले आप्mनै पुर्खाको जजमानी व्यवसायलाई अगाडि बढाए भने कान्छा छोरा शंकर देवले पश्चिम नेपालतिर धेरै असिना पल (वल) पर्ने हुनाले त्यस क्षेत्रका किसानहरुको अन्न बाली रक्षा गर्न तपोबल तन्त्रमन्त्रका बलले आकाशबाट खसेका वल (असिना) तर्काएर पाखा तथा खोलामा खसाउने गर्दा रहेछन् । त्यो तर्काए बापत उनले तिरो उठाउने गरेका थिए । त्यो तिरोलाई 'वोले तिरा' भनिदो रहेछ । वोले तिरो लिने भएपछि उनलाई वोले बा भन्न थालियो । समयान्तरको दौडानमा यिनै लाई वोलेबा भन्दा भन्दै उनलाई र उनी पछिका सन्तानलाई वली भन्न थालेका रहेछन् (पूर्ण प्रकाश नेपाल 'यात्री') उपमन्य गोत्रि पश्चिम नेपाल , जम्मु काश्मिर क्षेत्रमा रहेका छन् भन्ने भारतीय विद्वानको धारणा छ । ओली शब्दको उत्पत्ति ओल (असिना तर्काउने), ओलक (दुधका परिकार बनाउने) वा ओलनबाट ओली थर भएको हो । हाल ओली वली दुवै प्रकारले थर लेख्ने गरेका छन ।

ओलीका गोत्र पूर्वतिर उपमन्यु र पश्चिमका ओलीहरु आफ्नो सम्बन्ध काँशसंग भएको मानेर आफुलाई काशिल गोत्र मान्दछन् । कतै कतै ओलीहरले काश्यप गोत्र पनि मानेकाछन् । उपमन्यु ऋषिको कार्यक्षेत्र कैलाश दक्षिण भएकाले ओलीका गोत्र उपमन्यु गोत्रनै हुनु पर्दछ भन्ने मान्यता बढी रहेको पाइन्छ । ओलीहरुका तनि प्रवर (उपमन्यु, कपिल, विरुज) अत्रि, आतस्य , र इशावली छन् । ओली अथवा वली भन्ने सन्दर्भमा लवज, उच्चारण र शुद्धताको दृष्टिकोले 'ओली' नै हो । 'वली'ले अझ अर्थ दिन सक्छ । अंग्रेजीबाट बुझ्दा (Oli) र (Wali) हुन्छ । यसरी हेर्दा wali भन्दा Oli शुद्ध देखिन्छ । ओलीहरुमा जहाँका भए पनि जे जस्तो अवस्थामा रहे पनि सबैमा हामी एउटै हौं , हाम्रो हाड एउटै हो भन्ने भावना रहेको पाइन्छ ।


ओलीहरुको समाज, संस्कृति, जीवन पद्दति हिन्दु मान्यता र परम्परा अनुरुप छन् । मिथकीय मान्यता अनुसार ओलीहरुका सातभाइ गोरिलहरु आदि पुरुषका रुपमा मानिन्छन । आदि पुरुष चित्रा लेखि र पिनालेखि हुन । जसलाई दैविय मान्यता प्राप्त छ । ओली पुरुषको रुपमा भीम विभूत नै ओलीहरुका पहिलो पुरुष हुन ।

ओलीका कुल देवता महाकालीमा सिद्ध गोरिल (पाताल भूवनेश्वर) रहेको पाइन्छ । बझाङ्ग बाजुरा डाडामा रहेका शिव मन्दिरलाई गोरायल भनिने गरिएको छ । बाजुरा बझाङमा गोरायलथान (बाबाथान–शिवमंदीर) रहेको छ । पूर्वका ओली लगायत अन्य बह््रमाण क्षेत्रीले गोरिलको पूजा गर्दा शिव स्तोत्रले पूजा गर्ने गर्दछन् । कुलको पूजा आफ्नो घरकै मूल आछ्यानमा गर्ने गरिन्छ । शिवजीको पूजा गरेपछि छोपेर श्यालिनी जोगीलाई निखुर सेतो बोको वा उक्त सेतो बोको नपाए कहिँ कहिँ निखार कालो बोकोको बली दिने चलन छ । यस पूजामा आफ्नै कुलका पुरुषहरुमात्र सहभागी हुने चलन छ । मध्य पश्चिममा चित्रालेखि भनी त्रिशूल–दाना सहित पुजा गर्ने गर्दछन । तसर्थ सबै ओलीका कुल देवता शिवजी वा गोरिल नै हुन ।


नेपालका बाहुन क्षेत्री सबैले पश्चिमोत्तर भारत हुँदै कर्णाली प्रदेशबाट नेपालका विभिन्न ठाउँमा बसाईं सराइ गरेको हुन । सुरुमा ओलीहरु पश्चिम एसियाकै नश्ल भएकाले उनीहरु पनि त्यतैबाट बाट आएका हुन् । पश्चिम एसियाका साथै कैलाश पर्वतका वरिपरि ओलीहरुले ५००० वर्ष अगाडिदेखि बसोबास गरे । हाल ओलीहरु भारतको आल्मोडा, कुमाउगढ, पिथौरागढ, दिल्लीको द्वारका, दार्जलिङ्ग, आसाम, सिक्किम, भुटान , अफगानिस्थान,बर्मा आदि ठांउमा फैलिएका छन् । नेपालमा यिनीहरु आछाम, मुगु, जुम्ला, दाङ्ग, रोल्पा, रुकुम, सल्यान, गुल्मि, दोलखा, नुवाकोट, चितवन, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर, झापा, मोरङ्ग, सुनसरी क्षेत्रमा रहेकाछन् । उत्तर पश्चिम भारतको आल्मोडामा ओली गाउँ नै छ । जुन समयमा कर्णाली प्रदेशमा खस मल्लहरुको प्रभाव बढदै थियो । त्यसबेला पश्चिम भारत ब्राह्य आक्रमणको चपेटामा परेको थियो । त्यही बेला धेरै समूहहरु पश्चिम नेपालमा भित्रिन थालेको कुरालाई इतिहासले संकेत गरेको छ । एकथरीको मान्यता अनुरुप यही क्रममा ओलीहरु पनि द्धारका क्षेत्रबाट कुमाउ गढवाल हुदैँ काली पूर्वतिर लागि जाजरकोटको बारेकोट स्थित सामाकोटमा आएर बसोबास गरेको थिए भन्ने पाइन्छ ।

ओली वंशको हालको बसाइँ सराइमा केहि सल्यानबाट पूर्वतिर दोलखामा वि.स.१६०० सालतिर बस्न आएर काठमाडौं उत्तर तर्फका सिमानाको सुरक्षा तथा प्रशासनमा कार्यरत रहेको पाइन्छ । ओलीहरुले सरकारलाई दोलखाको मुल्दुङ्ग, डुमकोट, रामकोट, सिंगछी, दोभानका साथै नुवाकोटको बेलकोट, उपरदाङ्ग गढी आसपासको जमिन रकम दिएर जंगल किनी आवाद गुल्जार गरेका थिए । त्यस बेलाका लाल मोहोर, ताम्रपत्र आदिमा यी कुराहरु पाइन्छन् । पूर्वी नेपालमा तेह्रथुम, ताप्लेजुङ्ग, पाचथर, लिम्बुवानमा चार दाम राखी जंगल किनेर आवाद गरी ओलीहरुले बसोबास गरेका थिए भन्ने कुरा मालपोतमा रहेका अठसट्टाको लगत (१८६० वि.स.) लगतबाट पनि थाहा हुन्छ ।

वि.सं.१८०६ को दोलखा डुमकोृटमा प्राप्त ताम्रपत्र अनुसार त्यसबेलामा जग्गा खरिद गरिएको प्रमाणका आधारमा ओलीहरु त्याहाँ अठारौ शताब्दी अघिदेखि नै बसोबास गरेर आएको पाइन्छ । यसरी हेर्दा ओलीहरु नेपालमा परापूर्व कालदेखि नै बसोबास गरिआएका प्राग ऐतिहासिक जाति हुन् भन्न सकिन्छ ।
कर्णली क्षेत्रबाट ओली वंशका पुर्खाहरु जुम्ला जाजरकोटको सामाखोला, गैली गोताम, बुकीपाटन, चित्रिपाटन हुँदै सल्यानको हिमचौर आसपासका क्षेत्रहरुमा अन्य जनसंख्याको तुलनामा ओलीहरुको बसोबासो बाक्लो छ । सल्यान रोल्पा रुकुमका विभिन्न क्षेत्रहरमा ओलीहरु अत्याधीक जनघनत्वमा छन् । ओलीहरु सोही क्षेत्रबाट सुर्खेत, बाँके, दाङ्ग, बर्दिया, कञ्चनपुर, बैतडी, बाजुरा,दैलेख, प्युठान अर्घाखाँची, पाल्पा, कास्की, रुपन्देही, चितवन, नुवाकोट, काठमाडौं, दोलखा, उदयपुर, तेह्रथुम, ताप्लेजुङ्ग, झापा, सर्लाही, सप्तरी लगायतका जिल्लाहरुमा विस्तार भएका हुन् ।

(स्रोतः क.ओली वंशावली भाग–१ (पूर्वका ओली), ओलीवंश समन्वय समिति ख. ओलीवंश अक्षय कोष द्धारा प्रकाशित भित्तेपात्रो २०७१, ग.पूर्वका ओली वंशका दिवंङगत शीर्ष व्यक्तित्वहरुको एक चिनारी भाग–१, २०७१)

नेपाल भित्र वा बाहिर विभिन्न स्थानमा छरिएर रहेका ओली वंशका सम्पूर्ण दाजु भाइ तथा दिदीबहिनीहरुलाई संगठित रुपमा रहेर आपसी प्रेम, सद्भाव, परिचय, एकता, समन्वय, सहयोगका साथै वंशको उत्थान र विकासकालागि कार्य गर्नु आजको समयमा अनिवार्य सर्त रहेको छ । यसकालागि वंशभित्रका सदस्यलाई एकत्रित गराउने कार्यमा महत्वपूर्ण भुमिका संगठनको रहने छ । संगठन भनेको तागत हो । बल हो । यस अर्थमा संगठनले एक आपसमा भाइचाराको सम्बन्धमा विकास गर्दै वंशको इतिहास निर्माण गर्ने, धर्म र संस्कृतिको जगेर्ना गर्ने, रितिरिवाज र परम्परालाई समेत बदलिदो परिस्थिति अनुरुप सम्मान र संरक्षण गर्ने कुरामा बल दिने छ । यसैगरी देश विदेशका विभिन्न स्थानमा छरिएर रहेका ओली बन्धुहरुलाई नजिकमा ल्याउने कार्य संगठनले गर्दछ । यसका साथै समुदाय, समाज र राष्ट्रको समेत उन्नति र प्रगतिमा पनि संगठनको माध्यमबाट ओली बन्धुहरुले कुनै पनि तह र तप्कामा रहेर सहयोग पुर्याउने कुरामा विश्वास गर्न सकिने भएकाले संगठनको आवश्यकता, अपरिहार्यता र अनिवार्य भएको कुरा स्वीकार गर्दै ओली बन्धुहरु ओली वंश समन्वय समितिमा आवद्ध भएका हुन । फलस्वरुप झापाबाट सुरुवात भएको यो संगठनले केन्द्रिय स्वरुपमा प्रवेश गर्दै नेपालको पूर्विै क्षेत्रदेखि पश्चिमी भूभागमा समेत विस्तारभै रहेको छ ।

विशेष गरी नेपालमा मेची–महाकालीका साथै स्वदेश विदेशमा रहेका ओली बन्धु (उपमन्यु गोत्र) हरुको बिचमा आपसी परिचय, एकता, सद्भाव, समन्वय र सहयोगका लागि कार्य गर्ने एउटा संस्थाको भूमिका ओली वंश समन्वय समिति बन्न पुगेको छ । जसले भावी पींडिका बन्धुहरुका लागि ओली वंशको इतिहास, परम्परा र संस्कृति तथा धर्मलाइ समेत बचाएर राख्ने छ । यसप्रकारका सन्देश एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तानान्तरण गर्न समेत यो संस्थाले भुमिका खेल्ने छ । यिनै सूचनामूलक सामग्री र लक्ष्यलाई साकार पार्न ओली वंश समन्वय समितिको स्थापना भएको हो । स्थापित संस्थालाई बैधानिक मान्यता प्रदान गरी जीवन्तता दिनका साथै ओली बन्धुहरुको भविष्य निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्न सकोस भनेर सम्पूर्ण ओली बन्धुहरुको बिचको आवद्धता नै यो संस्थाको मुटु हो भन्दै यिनै कुरालाई व्यवहारमा उतार्न ओली वंश समन्वय समिति नेपालको बिधान २०५२ बन्यो र विधिवत रुपमा दर्ता पनि भएको छ । यसले यस संस्थाको मार्ग पनि सुनिश्चित गरेको छ ।